आफ्नै बाबु लगायत माइतिका सबै जनाको हत्या गर्न १० लाखमा ठेक्का दिने यी युवति...

आफ्नै बाबु लगायत माइतिका सबै जनाको हत्या गर्न १० लाखमा ठेक्का दिने यी युवति...

Loading...

पैसा भनेपछि महादेवको पनि तिन नेत्र हुन्छ भन्ने उखान नै छ । तरपनी पैसाकै लागि मानिहरु यति सम्म गिर्छ भन्ने कुरा यहाँ भएको एक घटनाले देखाउँछ । आफ्नै बाबुलाई पैसा नदिएको कारण र सबै सम्पत्ति आफैले कुम्ल्याउने सपना देखेकै कारण भाडाका हत्यारालाई १० लाख रुपैयाँ दिएर माइतिका बाबु लगायत सबैलाई  सिध्याउँने कन्ट्रयाक्ट (सुपारी) दिइन् । जुन सुन्दा कुनै फिल्ममा मात्र देखिने कहानी जस्तो लाग्छ ।

यो घटना २०७२ माघ २१ को हो । काठमाडौंको टोखाको निर्माणाधीन पुलनजिकै एक अधबैंसे व्यक्तिको शव फेला पर्‍यो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरे । शवको घाँटी, टाउको, निधार, हात र छातीमा धारिलो हतियार प्रहार भएको देखिएपछि घटनास्थलको अवलोकनकै आधारमा प्रहरी ती अधबैसे पुरुषको हत्या भएको निष्कर्षमा पुग्यो र अनुसन्धान अगाडि बढायो । सोधखोज गर्दै जाँदा मृतक त्यहीका बासिन्दा माइला महर्जन भएको थाहा भयो । प्रहरीले घटनास्थलको मुचुल्कापछि शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाको अनुसन्धान थाल्यो ।

नमुना तस्विर

महर्जन घटनाको अघिल्लो दिन साँझ ६:३० तिर घरबाट निस्किएका थिए । उनको मोबाइलको कल रेकर्ड हेर्दा अन्तिम सम्पर्क उनकी २० वर्षीया छोरी संगीता पाण्डेसँग भएको देखियो । अनुसन्धानका क्रममा संगीताले परिवारको सहमतिबेगर २ वर्षअघि अन्तर्जातीय विवाह गरेको देखिएपछि प्रहरीले आफ्नो खोजतला संगीतातिरै केन्द्रित गर्‍यो ।

संगीता बाबुको मृत्युको शोकमा थिइन् । शंकाको भरमा यस्तो अवस्थामा थप चोट दिन चाहेन प्रहरीले र सामान्य सोधपुछ मात्र गर्‍यो, तर आशंका भने हटिसकेको थिएन । प्रहरी माइलाको १३ दिनको काम सकिने प्रतीक्षामा थियो ।

सूक्ष्म रूपमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले बाबुछोरीबीच पैसाको विषयमा विवाद भएको सुइको पायो । ब्युटिसियनको कोर्ष गरेकी संगीता आफ्नै ब्युटिपार्लर खोल्न चाहन्थिन् । श्रीमान्को आर्थिक हैसियत ब्युटीपार्लर खोलिदिन सक्ने नभएपछि उनी माइतीको शरणमा पुगेकी थिइन् ।

विवाह नगर भन्दाभन्दै भागे पनि माइतीपक्षले विस्तारै उनलाई स्वीकार गरिसकेको थियो । बाबुले जग्गा बेचेर भए पनि पैसा दिउँला त भने तर दिएनन् त्यसैले बाबु–छोरीबीच ठास्सठुस्स चलिरहेको थियो । प्रहरीको अनुसन्धान संगीता वरिपरि घुमे पनि सामान्य विवादमै छोरीले बाबुको हत्या गरिन् होला र ? प्रहरीमा आशंका कायमै थियो ।

महानगरीय प्रहरी अपराध महाशाशाखाले गत फागुन १२ मा माइलाको हत्यामा संलग्न ७ जनालाई गिरफ्तार गरेसँगै अनुसन्धानमा संलग्न प्रहरी छ्याङग भए । संगीता आफ्नै बाबुको हत्याको मुख्य योजनाकार थिइन् । पैसा नदिएको झोक फेर्न उनले संगठित आपराधिक समूहले अपनाउने कन्ट्रयाक्ट किलिङको शैली पच्छ्याउँदै कन्ट्रयाक्ट किलर प्रयोग गरेर बाबुको हत्या गराएको अनुसन्धानबाट प्रष्ट भयो ।

‘सुरुमा त आफ्नी छोरीले बाबुलाई मार्न यत्तिसम्म गर्न सक्छिन् र भन्ने लाग्यो,’ महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, ‘उनलाई दोस्रो पटक नियन्त्रणमा लिएर सोधपुछ गर्दा सबै कुरा सहजै स्वीकार गरेपछि हामी पनि छक्क पर्‍यौं ।’

माइला हत्यासम्बन्धी प्रहरी अनुसन्धान विवरणअनुसार ब्युटिपार्लर खोल्न ४ लाख नदिएपछि माइतीको सम्पत्ति हडप्न उनले एक समूहलाई १० लाखमा माइतीका सबै सदस्यको हत्याको कन्ट्रयाक्ट दिएकी थिइन् । कन्ट्रयाक्ट पाउनेहरूको जिम्मा थियो— उनका बाबु, आमा अनि दाइको समेत हत्या । परिवारका सबै सदस्यको मृत्युपछि टोखास्थित माइतीको सबै सम्पत्ति आफ्नो हुने भएकाले संगीताले यति क्रूर आपराधिक योजना बनाएको बताइन्छ ।

संगीताले माइतीका सबैको हत्याको कन्ट्रयाक्ट दिएकी थिइन्– विक्रम तामाङलाई । तामाङले आफूसँग यो कामका लागि साथीहरू भएकाले तीनै जनाको हत्या गर्न सक्ने दाबी गर्दै ५० लाख मागेका थिए । बार्गेनिङ चल्दै जाँदा १० लाखमा डिल फाइनल भयो । योजनाअनुसार माघ २० मा संगीताले नै माइलालाई टोखाको स्टारटाउन नजिकै बोलाइन् । तामाङसँगै रहेका सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगर मिलेर ह्याम्मर, खुकुरी र चक्कुले माइलामाथि अन्धाधुन्ध प्रहार गरे ।

माइला कराएपछि विक्रमलगायतका आक्रमणकारीहरू भागे । उनीहरू भाग्दा माइला चलमलाइरहेका थिए । संगीता आफैंले ह्याम्मरले हानेर बाबुको चलमलाएको शरीरलाई शान्त बनाइन् । उक्त घटनामा यो प्रकृतिको अपराधको अनुभव नभएका सिकारुहरूको प्रयोग भएकाले उनीहरू पहिलो हत्यामै डराउँदा संगिताका आमा र दाजुको ज्यान जोगिएको थियो । संगीता बाबुको किरियाकर्म सकिएपछि दाइ र आमाको हत्याको ठेक्का लिनेहरूको खोजीमा लागेकै बेला पक्राउ परिन् ।

एसएसपी सर्वेन्द्र खनाल कन्ट्रयाक्ट किलिङलाई अपराधको व्यापारीकरणको गम्भीर रूप बताउँछन् । संगठित प्रकृतिको अपराधमा संलग्न र घरेलु प्रकृतिको विवादमा प्रयोग भएका कन्ट्रयाक्ट किलर अर्को अपराधमा प्रयोग हुनुअघि नै पक्राउ पर्ने गरेकाले यसले गम्भीर स्वरूप लिन नसकेको खनालको विश्लेषण छ । ‘यसको जरो तराईतिर देखिएको थियो । अब त्यो बिस्तारै ठूला सहरी क्षेत्रमा समेत फैलिएको छ,’ एसएसपी खनालले भने, ‘यो खतराको संकेत हो ।’

साभार : कान्तिपुर साप्ताहिक


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...