बेगनास तालमा भेटिएकाे महिलाको शवसँग यसरी झुक्कियो प्रहरी

बेगनास तालमा भेटिएकाे महिलाको शवसँग यसरी झुक्कियो प्रहरी

Loading...

बेगनास तालमा एक महिलाको शव फेला पर्‍याे । मंगोलियन अनुहारकी गोरी महिलाको शव माघ २५ गते तालमा तैरिरहेको थियो । शव हेर्न भीड लाग्यो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा आयो । शव बाहिर निकाल्यो । जहाँ शव फेला पर्‍यो त्यहाँ एक मान्छे डुबाउने गहिरो थियो ।

‘ओ हो, विदेशी पो रहिछे,’ भिडबाट आवाज आयो । पानीले फुलेको अनुहार झट्ट हेर्दा ३०–३५ वर्षीय जस्तो देखिन्थ्यो । सर्ट, पाइन्ट, अनि स्पोर्ट सुज देखेपछि उद्धार गर्न पुगेका सिसुवा प्रहरीले पनि विदेशी नै रहेको अनुमान लगायो । शवको खानतलास गरियो । केही फेला परेन । विदेशी पर्यटक भएको हुनाले उनीसँग झोला र क्यामेरा हुनुपर्ने प्रहरीले अनुमान गर्‍यो । झोला भेटिए केही पहिचान खुल्थ्यो कि भनेर प्रहरीले ताल छेउछाउ र वनमा खोजी गर्‍यो, फेला पारेन ।

भोलिपल्ट प्रहरीले त्यस क्षेत्रमा रहेको होटलमा फोटो देखाउँदै खोजी अघि बढायो । कुनै पनि होटलबाट पहिचान खुल्न सकेन । आफ्नो क्षेत्रमा फेला परेको शव पहिचान हुन नसक्दा सिसुवा प्रहरीलाई हैरानी भयो । पहिचान खुल्न नसकेको विदेशी महिलाको शव फेला भनेर समाचार प्रकाशन तथा प्रसारण भयो । त्यति हुँदा पनि पहिचान खुल्न सकेन । त्यसपछि सिसुवा प्रहरी फोटो लिइ लेकसाइडका होटलमा शव पहिचानका लागि जाने तयारी जुट्यो ।

यता लेखनाथ– १२, ढुंगेपाटनका प्रेमबहादुर पुन मगरकी कान्छी छोरी खिममाया हराएको तीन दिन बितिसकेको थियो । प्रेमले थाहा पाए—बेगनाश तालमा महिलाको शव फेला परेको छ । त्यसपछि प्रेम पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगे । विदेशी महिलाको भनिएको शव त उनकै २८ वर्षीया छोरी खिममायाको थियो ।

नेपाली महिला हुनसक्ने एक प्रतिशत पनि अनुमान नगरेको इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख मित्रबहादुर आचार्यले बताए । ‘शरीरको बनावट अनि पहिरन हेर्दा विदेशी जस्तै देखियो,’ आचार्यले भने, ‘शव उद्धार गर्दा उपस्थित सबै स्थानीयले पनि विदेशी नै भनेका थिए ।’ कुनै पनि दृष्टिकोणबाट नेपाली जस्तो नदेखिएको आचार्यले बताए ।

‘नेपाली भएको भए कानमा सुन लगाएको हुनुपर्ने भन्ने थियो, विदेशीले लगाउने जस्तो झुम्का लगाएकी थिइन्,’ उनले भने, ‘ट्राउजर पनि विदेशीले लगाउने जस्तो थियो ।’ शवको साथमा केही नभेटिएको हुनाले समस्या आएको उनले बताए । ‘यतातिरको कुनै महिला हराएको भन्ने सूचना पनि नआएको हुनाले शंका गर्ने आधार पनि भएन,’ उनले भने, ‘शव हेर्दा ठ्क्याकै विदेशी जस्तो थियो अनि साथमा आइडी कार्ड पनि थिएन ।’

विदेशीको शव भनेर सार्वजनिक भएपछि नेपालस्थित केही विदेशी दूताावासबाट फोन आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘विदेशी जस्तै देखिएको हुनाले सिसुवा प्रहरी झुकियो,’ डिएसपी बज्राचार्यले भने, ‘शव पहिचान हुन नसक्दा केही दूतावासबाट फोन आएर हैरानै पारेको थियो ।’

कसरी भयो खिममायाको मृत्यु ?
फेवा विकास बैंकको लेखनाथ पावर हाउस शाखामा कार्यरत खिममाया पुन मगरको मृत्युको कारण अझै खुल्न सकेको छैन । लेखनाथ–१२ ढुंगेपाटनकी पुनको शव माघ २५ गते बेगनास तालमा तैरिरहेको अवस्थामा फेला परेको थियो । शवको पहिचान माघ २८ गते भएको थियो ।

माघ २५ गते बिहान अफिस गएपछि परिवारको सम्पर्कमा नरहेको उनका बुबा प्रेमबहादुरले बताए । सोही दिनको १ बजे छोरीसँग सम्पर्क भएको तर फोन स्पष्ट नभएको उनको भनाइ छ । हराएको तीन दिनपछि २८ गते बिहान शव पहिचान भएको उनले बताए । खिममायाको हत्या भएको हुनसक्ने आरोप आफन्तले लगाएका छन् । पुनको हत्या हुनु प्रशासनको कमजोरी भएको भन्दै पीडित परिवारले घटनाको सत्य तथ्य र दोषी पत्ता नलागेसम्म सब नबुझ्ने घोषणा गरेका छन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘प्रारम्भिक अनुसन्धानले डुबेरै मृत्यु भएको देखाउँछ,’ डिएसपी बज्राचार्यले भने, ‘टाउकोमा कुनै पनि प्रकारको चोट देखिँदैन ।’ पोस्टमार्टम भइसकेको तर रिपोर्ट आउन बाँकी रहेको बज्राचार्यले बताए ।


Source : Samadhannews


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...